हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयबाट पछि हट्यो सरकार

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई असर पर्ने गरी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयबाट सरकार पछाडि हटेको छ । पूर्वाधार नै खडा नभएको यती समूहको लगानी रहेको हिमालयलाई ४ असोजमा नागरिक उड्डयन प्राधिकरणले निर्णय गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको थियो ।

प्राधिकरणको उक्त निर्णयको आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तत्काल कार्यान्वयन नगर्न नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको विषयमा मन्त्री भट्टराईले प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् । प्राधिकरणले हिमालयलाई दिएको ग्राउन्ड ह्यान्डलिङ अनुमति २०७२ मा जारी भएको निर्देशिकाअनुसार नै भएको पोखरेलले बताएका थिए ।

हिमालयले निर्देशिकाकै व्यवस्थाअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति लिएको भए पनि ऊसँग ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता भए–नभएको अध्ययन गरेर मात्रै निर्णय गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । नेपाल वायुसेवा निगमको कर्मचारी युनियनलगायत संगठनहरूले मन्त्रालयमा विरोधपत्रसमेत बुझाइएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । जसमा विगतमा ४० वर्षअगाडिदेखि नै थाई एयरवेज र एयर इन्डिया आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । थाई एयरवेज र एयर इन्डियाको विषयमा समेत अध्ययन गरेर मूल्यांकनका आधारमा मात्रै नवीकरण गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।

वायुयानहरूको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार निर्णय गरिएको भन्दै अनुमति जारी गरिएको थियो । निगमले वार्षिक ५ अर्ब रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्दै आएको छ । ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत रकम निगमले प्राधिकरणलाई बुझाउने गरेको छ । ह्यान्डलिङको जिम्मा हिमालयलाई दिँदा प्राधिकरणको पनि झन्डै १० करोड आम्दानी गुम्ने भएको थियो ।

थाई र एयर इन्डियाको अध्ययन गरेर मात्रै नवीकरण गरिने
नेपाल नागरिक उड्डयन प्राधिकरणले २ विदेशी एयरलाइन्सलाई दिँदै आएको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङको समेत अध्ययन गरेर मात्रै नवीकरण गर्ने भएको छ । प्राधिकरणले तयार पारेको निर्देशिकाअनुसार काम भए–नभएको अध्ययन गर्ने निर्णय गरेको महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

थाई एयरवेज र एयर इन्डियाले आफ्ना जहाजको ग्राउन्ड ह्‍यान्डलिङ आफैँ गर्दै आएका छन् । यस्तो अनुमति पाउनका लागि निर्देशिकाअनुसार दक्ष जनशक्ति, मेसिनरी औजार तथा उपकरण, ५ करोडबराबरको बिमा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, हप्तामा ३५ उडान गरेको हुनुपर्ने व्यवस्था पनि छ । ‘एयरलाइन्सले यस्तो मापदण्ड पूरा नगरेका कारण उनीहरूलाई दिइएको अनुमति खारेज गर्नेछाँै,’ पोखरेलले भने ।


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media