हजार क्षमताको होल्डिङ सेन्टरको पहल गरिने

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७८

पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

स्थानीय स्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिए । भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरूको नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेहरूलार्ई सुरक्षा निकायले निर्माण गरेको जाँचस्थलमा केहीबेर राखेर पठाइने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र सङ्घीय सरकारको सरोकारको विषय भएको बताए । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए । भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकताअनुसार होम आइसोलेसनसम्मै पुर्‍याउने गरिएको उनले बताए । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीनवटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटलसमेत नाकानजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए ।

जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या चार हजार आठ सय १९, डिस्चार्ज चार हजार पाँच सय १९, आइसोलेसनमा एक सय ६९ जना, कुल सङ्क्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । रासस


Published :१४ बैशाख २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media