सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरूको भीड लागेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मङ्गलबार बिहानैदेखि काठमाडौँ उपत्यका छाडेर घर फर्किनेको भीड लागेको छ ।
खासगरी काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेको भीड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भीड लागेको छ ।
सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि लागू हुने गरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ । केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारीसाधनले खाँदाखाँद यात्रु लिएर उपत्यका छाडेका छन् ।