शेरबहादुर देउवा फेरी कांग्रेसको सभापति भिड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा दोहोरिन ‘राजनीतिक दौड’ सुरु गरेका छन् । भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित भएसँगै देउवाले चुनावी तयारी सुरु गरेका हुन् ।

सभापति देउवाले आफू निकट नेताहरुसँग प्रदेशगत छलफल सुरु गरेका छन् । शनिबार प्रदेश १ र २ का केन्द्रीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका देउवाले आज बागमती प्रदेश र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गर्दैछन् ।
आफूनिकट नेताहरुसँगको छलफलमा सभापति देउवाले आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने बताएका छन् । आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताएर ल्याउनसमेत देउवाको निर्देशन छ ।

२०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा स्थापित भएका सभापति देउवा अझै एक कार्यकाल नेतृत्वमै रहन चाहन्छन् । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरेका देउवासँग यसपटक प्रतिस्पर्धी को-को रहनेछन् भन्ने निश्चित भइसकेको छैन ।
यद्यपि आफ्नै समूह व्यवस्थापन गर्नुपर्ने चुनौती पनि देउवासामू छ । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।
शनिबार देउवासँगको छलफलमै निधिले आफूले लामो समयदेखि सघाएको भन्दै यसपटक आफूलाई सघाउन अनुरोध गरेका थिए । सभापति देउवाले आफू उम्मेदवार बन्ने भएकोले तयारी गर्न निर्देशन दिएपछि निधिले उम्मेदवार त आफू पनि रहेको बताएका थिए ।
‘मैले लामो समयदेखि तपाईंलाई सहयोग गरेको छु । यसपटक तपाई प्रधानमन्त्री बन्नुस् मलाई सभापतिमा प्रस्ताव गर्नुस्’, निधिको भनाई थियो । देउवाले सभापतिमा लड्ने कुरा निधिको व्यक्तिगत अधिकारको विषय रहेको जवाफ दिए ।
छलफलमा सहभागी एक नेता देउवा र निधि दुवैको तयारीले समूहमा समस्या पर्नसक्ने बताउँछन् । ‘दुवै नेता आदरणीय हुनुहुन्छ । उहाँहरुमध्ये एकजनामात्रै उम्मदेवार भए हामीलाई सहज हुन्छ । अन्तिमसम्म कुरा मिल्छ होला भन्ने लाग्छ’, ती नेताले भने । चार पटक मुलुकको कार्यकारी प्रमुख भइसकेका देउवालाई विद्यार्थी राजनीतिदेखि नै निधिले सघाउँदै आएका छन् । पार्टी विभाजनको बेलासमेत देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिमा निधि महामन्त्री थिए ।

‘संविधान कार्यान्वयन मैले नै गराएको हो । अब पार्टीलाई एक नम्बर बनाएर मात्रै विश्राम लिन्छु’, देउवालाई उधृत गर्दै एक नेताले भने । कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ लिँदै अबको निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउन सकिने देउवाको बुझाई छ ।

आसन्न महाधिवेशनमा देउवासंग प्रतिस्पर्धा गर्न चाहने कांग्रेस नेताहरुको संख्या आधा दर्जन बढी छ । अघिल्लो पटक देउवासँग पराजित वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला देउवाका मुख्य प्रतिस्पर्धी हुन् ।

देउवाइत्तर पक्षबाट एकजना मात्रै उम्मेदवार रहने सम्भावना कम देखिन्छ । सबै नेताले दावेदारी प्रस्तुत गर्दै आफूले मात्रै देउवालाई हराउन सक्ने दावी गर्दै आएका छन् ।

देउवा समूहबाट उपसभापति निधि र तेस्रो धारबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । विपक्षमा धेरै आकांक्षी हुँदा देउवालाई सहज हुने देखिन्छ । यद्यपि निधिलाई मनाउने चुनौती भने देउवासँग बाँकी नै रहेको छ ।

 


Published :६ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media