फिलिपिन्समा खोप लगाउन नमान्नेलाइ जेलमा कोचिने

काठमाडौं– कोरोना महामारीमा खोप लगाउन नमान्ने आफ्ना नागरिकलाई फिलिपिन्सका रास्ट्रपति रोद्रिगो डुटेर्टेले जेलमा कोचिदिने चेतावनी दिएका छन् । एशियामा सबैभन्दा धेरै प्रभावित राष्ट्रहरुमध्येको एक फिलिपिन्समा १० लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । २३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यदाकदा अश्लिल भाषा र शब्द प्रयोगका लागि प्रख्यात डुटेर्टेले सोमबारको टेलिभिजन सम्बोधनमा आफ्ना नागरिकलाई भने ‘तिमीहरु आफैँ छनौट गर, खोप लगाउँछौ कि जेल जान्छौ ?’

सम्बोधनमा उग्र देखिएका राष्ट्रपतिले नागरिकलाई फेरि पनि अश्लिल शब्दले गाली गर्न भ्याइहाले । फिलिपिनो भाषामा सम्बोधन गरेका राष्ट्रपतिले नागरिकलाई धम्क्याउँदै भने ‘जसले खोप लगाउन मान्दैन, उसलाई पक्रन लगाएर म आफैँले त्यस्ताको चाकमा खोप हानिदिनेछु ।’

उनले आफ्नै सरकारका स्वास्थ्य अधिकारीहरूको समेत खण्डन गर्दै आएका छन् । सरकारी अधिकारीहरुले कोरोनाविरुद्धको खोप लगाउने विषय व्यक्तिको स्वेच्छामा भर पर्ने बताउँदै आएका छन् । राष्ट्रपतिले सबैले अनिवार्य लगाउनुपर्ने धारणा राख्दै आएका छन् ।

राष्ट्रपति डुटेर्टेले सर्वत्रबाट आलोचना हुँदा पनि विद्यालय खोल्न नदिने अडान लिँदै आएका छन् ।

स्रोत :- janaaastha.com


Published :८ असार २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media