टोकियो — बेल्जियमले ओलम्पिक हकीमा पहिलोपल्ट स्वर्णपदक जितेको छ । उसले पुरुषतर्फको फाइनलमा १–१ को बराबरीपछि अस्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै बिहीबार टोकियो ओलम्पिक २०२० मा स्वर्ण हात पारेको हो ।
टोकियोस्थित ओइ हकी रंगशालामा सम्पन्न फाइनलमा फ्लोरेन्ट भान अउबेलले ३२ औं मिनेटमा बेल्जियमलाई १–० को अग्रता दिलाएका थिए । तर, थोम विकहमले ४७ औं मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई १–१ को बराबरीमा पुर्याएका थिए । रोमाञ्चक फाइनल निर्धारित समय बराबरीमै सकिएपछि भएको पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै बेल्जियम पहिलोपल्ट हकीमा ओलम्पिक च्याम्पियन भएको हो ।
बेल्जियमले ५ वर्षअघि रियो ओलम्पिकमा पनि फाइनल खेलेको थियो । तर, त्यसमा उसलाई ४–२ ले हराएर अर्जेन्टिनाले स्वर्ण जितेको थियो । यसपाली भने बेल्जियमले अस्ट्रेलियाको १७ वर्षपछि ओलम्पिक च्याम्पियन बन्ने अभियानलाई रोमाञ्चक फाइनलमा रोक्दै उपाधि हात पार्यो । बेल्जियमले ओलम्पिक हकीमा जितेको यो तेस्रो पदक हो । उसले आफैले आयोजना गरेको सन् १९२० को एन्टर्प ओलम्पिकमा पनि कांस्य हात पारेको थियो ।
गोलकिपर भिन्सेन्ट भानसले अस्ट्रेलियाका तीन प्रहारलाई रोक्दै बेल्जियमर्ला स्वर्णसम्म पुर्याएका हुन् । उनले पहिलो प्रहारमा ब्लेक गोभर्सलाई असफल पारेका थिए । जोसुआ सिमोन्ड्सलाई पनि रोकेका उनले निर्णायक प्रहारमा ज्याकोव व्हिटनको बल क्लियर गर्दै बेल्जिमलाई ३–२ को जित दिलाए । कप्तान फेलिक्स डिनयर चुके पनि बेल्जियमका भान अउबेल, आर्थर डे स्लोभर र अलेक्जेन्डर हेन्ड्रिक्सले गोल गरेका थिगए । फ्लिन एन्ड्रयु ओगिलभिए र अस्ट्रेलियाका टिम ब्रान्डमात्रै सफल भए ।
यसअघि कांस्यको लागि भएको प्रतिस्पर्धामा भारतले जमनीलाई ५–४ ले हरायो । भारतले ४१ वर्षयता ओलम्पिक हकीमा पहिलो पदक जितेको हो । यसपालीसहित भारतीय हकी टिमले ओलम्पिकमा सर्वाधिक आठ स्वर्ण, एक रजत र तीन कांस्य जितेको छ । उसले पछिल्लोपल्ट सन् १९८० को मस्को ओलम्पिकमा स्वर्ण हात पारेको थियो ।
टोकियो ओलम्पिक २०२० मा भारतले महिलातर्फ पनि कांस्यको लागि शुक्रबार बेलायतविरुद्ध खेल्दैछ । त्यसमा स्वर्णको प्रतिस्पर्धा नेदरल्यान्ड्स र अजेन्टिनाबीच हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा भारतलाई २–१ ले हराएको थियो ।