को हुन् परराष्ट्रमन्त्रीमा नियुक्त डा.नारायण खड्का ?

राष्ट्रपाटी न्युज

६ आश्विन २०७८

काठमाडौं । परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन् ।
मङ्गलबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्र मन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमतिपछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका हुन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनि २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य छन्। विसं २०७० मा उनि सहरी विकास मन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका उनि विभिन्न समयमा पाँचपटक जेल पनि परेका छन् ।
राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारीधि गरेका उनि नेपाली कांग्रेसको प्रभावशाली नेता पनि हुन् । उनि संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भैसकेका छन् ।


Published :६ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media