चिसोको संक्रमणबाट बच्न के के गर्ने ?

राष्ट्रपाटी न्युज

२० कार्तिक २०७८

काठमाडौं। चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् ।
निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्की बताउछन ।
खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति चिसोबाट बच्नुपर्ने उनि बताउछन । कार्कीका अनुसार चिसोयाममा सताउने रोगहरु निम्न छन् ।
ज्वरो, रुघाखोकी
जाडोयाममा रुघाखोकीले ज्यादै सताउने गर्दछ । जाडोयाम शुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण ज्वरो र रुघाखोकीको समस्या देखिन्छ। राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
जाडोमा यी भाइरस बढी सक्रिय रहने उनि बताउछन् । यसले विशेषगरी बालक तथा वृद्धवृद्धालाई आक्रमण गर्दछ । रुघाखोकीलाई सामान्य रुपमा सोचेर वेवास्ता गरे निमोनिया पनि हुन सक्ने कार्की बताउछन् ।
निमोनिया
निमोनियका बिरामी पनि जाडोयाम लागेसँगै धेरै देखिन्छन् । यो समयमा बालबालिका र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । धेरै ज्वरो आउने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनुनै निमोनियाका लक्षण हुन । फोक्सोसा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या आउने उहाँको भनाइ छ ।
पिनास
जाडोयाममा पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी उक्त ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिनास हुने डा.कार्की बताउछन् ।
छालाको एलर्जी
छालाको एलर्जीले पनि जाडोयाममा धेरैलाई दुःख दिने गर्दछ । जाडोयाममा पानीको मात्रा कमी भएका कारण छाला सुख्खा हुने गर्दछ । जसका कारण छाला चिलाउने, ओठ फुट्ने, कुर्कच्चा फुट्ने, छाला चिलाउने जस्ता छालामा समस्या आउने डा. कार्की बताउछन् ।
दम, मुटुरोग
दम, मुटुरोगका बिरामीलाई पनि जाडोयाम सुरु भएसँगै ज्यादै चिन्ता हुन्छ । विशेषगरी बृद्धबद्धालाई बढी सताउने गर्दछ । जाडोयाममा श्वासनलीहरु खुम्चने भएका कारण श्वास फेर्न समस्या हुने डा. कार्की बताउछन् ।
बाथ, जोर्नी दुखाई
जाडोयाम शुरु भएसँगै बाथ र जोर्नीको दुखाई पनि धेरैलाई हुन्छ । जाडोयाममा शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम फरक पर्ने भएका कारण जोर्नीको दुखाई हुने डा. कार्की बताउछन् । जाडोयाममा बाथ रोगका बिरामी पनि बढी देखिन्छन् ।
टन्सिल
टन्सिल पनि चिसोयाममा धेरै निम्तने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातो पानी, झोलिलो पदार्थको नियमित सेवन गर्नुपर्ने हुन्छ ।
धेरै रोगको उपचार खानपान नै
जर्नल फिजिसियन डाक्टर लोचन कार्कीले जनाएअनुसार जाडोयाममा देखिने धेरै रोगका समाधानको उपाय भनेको नै खानपानमा ख्याल गर्नु हो । जाडोयाममा तातो कुरा बढी सेवन गर्नुपर्ने र शरिर छोपिने बाक्ला लुगा लगाउनाले नै यी समस्याहरु दूर हुन सक्ने उनि बताउछन् ।
जाडोयाममा पानी कम पिउँदा यस्ता समस्या आउन सक्ने भएकाले तातो पानी प्रशस्त पिउन उनको सुझाव छ । यो सँगै तातो झोलिलो पदार्थ, गेडागुडी पनि खानुपर्ने हुन्छ ।


Published :२० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media