मेरै आँखा अगाडि मत लुटिए : गुरु घिमिरे

राष्ट्रपाटी न्युज

२१ मंसिर २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूमाथि पटक पकट राजनीतिक हिंसा गरेको आरोप लगाएका छन् ।

उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको र सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए ।

“ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नुभयो । राजनीति हिंसाको सुरुवात देउवाबाटै भएको हो । पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो । अहिले पनि धनवाद डनबाद सबै देखियो । मत लुटिएका छन् । मेरै आँखा अगाडि मत लुटिएका छन् । अहिले सत्ताको दुरुपयोग गरेर ममाथि राजनीतिक हिंसा गर्नुभएको छ । अहिलेको चुनावमा बाहिरको पाखण्ड र ढोँग पनि देखियो । मन्त्री सबै मोर्चाबन्दी गरेर पैसाको खोलो बगाएको पनि देखियो ।”

उनले कन्फ्युजनको प्रचार गरिएको भन्दै अन्तिममा चामत्कारिकरुपमा २ मतले पराजित गरिएको बताए ।

“१६३४ गन्दा लिडमा थिएँ, अन्तिममा घटाएर चमत्कारिकरुपमा २ मतले हारेको घोषणा गरियो,” उनले भने, “पुनः मतगणनाको माग गरेको छु । अहिले केन्द्रीय निर्वाचन समितिमा आए पनि आलटाल गरिरहेको छ । केन्द्रबाट निर्देशन आए गर्छौँ भनेको छ । मैले प्रतिष्पर्धा गरेको फेरि हेर्न पाउँ भन्दा पनि निर्देशन दिइएको छैन । तुरुन्त निर्णय गर्न भनेको छु तर हुन सकेको छैन । यो अर्को अधिनायकवाद र निरंकुशता हो ।”


Published :२१ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media