काँग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा आजदेखि सुरु

राष्ट्रपाटी न्युज

२४ मंसिर २०७८

 

काठमाडौँ । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन। उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । विभिन्न देशबाट महाधिवेशनको सफलताको कामना गर्दै पठाइएका सन्देश पनि वाचन गरिनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

काँग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीले बताए । समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।


Published :२४ मंसिर २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media