मन्त्रालय फुटाएर बागमती प्रदेश मन्त्रिमण्डल बिस्तार

राष्ट्रपाटी न्युज

२८ मंसिर २०७८

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन्  । मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । यस्तै राज्यमन्त्री गुरुङलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराएका  थिए  ।

विस्तारित मन्त्रिपरिषदमा  दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, मानन्धरले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, हुमागाईँले कृषि तथा पशुपंक्षी मन्त्रालय, खड्काले वन तथा वातावरण मन्त्रालय र ढकालले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्  । यस्तै गुरुङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले मङ्गलबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

दोश्रो पटक विस्तारित मन्त्रिमण्डलमा परेका मन्त्रीहरु दाहाल, खड्का र ढकाल नेकपा (माओवादी केन्द्र) का तथा मानन्धर, हुमागाईँ र राज्यमन्त्री गुरुङ नेकपा (एकीकृत समाजवादी) का हुन्  ।

योसँगै एक राज्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल बनेको छ । प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमा हाल मन्त्रालय फुटाएर १४ वटा पु-याइएको छ ।

 

 


Published :२८ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media