प्रधानमन्त्री देउवाद्वारा हुने भनिएको भारत भ्रमण स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयले औपचारिक सूचि सार्वजनिक गर्न बाँकी भएकाले यो विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले औपचारिक पत्र पठाएपछि मात्र यो विषयमा बोल्न मिल्ने उनले बताए ।

‘सामान्यतया राष्ट्रपति र प्रधानमन्त्री भ्रमण भन्दा तीन दिन अगाडि औपचारिक रुपमा तालिका सार्वजनिक हुन्छ । हामीले अहिलेसम्म भ्रमणको तालिका सार्वजनिक गरिसकेका छैनौँ’, प्रवक्ता लम्सालले भने ,‘समिट स्थगित भएको विषयमा भारतबाट औपचारिक पत्र आएपछि मात्र केही भन्न सक्ने अवस्था हुन्छ ।’

 


Published :२२ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media