राष्ट्रिय सभा निर्वाचन बुधबार हुदै , कहाँ–कहाँ छ मतदानस्थल ?

काठमाडौं। राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।
प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुँदै छ ।
निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा दुई वटा मतदानस्थल र अन्य ६ प्रदेशमा एक एक वटा मतदानस्थलभित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको छ ।
प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।
यसैगरी, प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ ।
निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् । जसमा प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १४९३ रहेका छन् ।


Published :११ माघ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media