काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।
विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् ।
यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
वसन्त श्रवण
यस अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणको लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेका सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको छ । यो पाठ १५ श्लोकको रहेको छ ।