पाँच मन्त्रीहरुको नियुक्तिसंगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमान्डौ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आइतबार पाँच जना मन्त्रीहरुलाई नियुक्त गरेसँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेशको मुख्यमन्त्री जीवन बहादुर शाही मुख्यमन्त्री भएको करिब एक सय दिन पुग्न लाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
आइतबार मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले कांग्रेस र माओवादीबाट दुई÷दुई जना र नेकपा एकीकृत समाजबादी पार्टीबाट एक जना मन्त्री नियक्त गरेका हुन् ।
पाँच जना मन्त्री नियुक्त हुनेमा नेपाली कांग्रेसका यज्ञ बहादुर बुढा (क्षेत्री) र हिमबहादुर शाही, माओवादी केन्द्रबाट गणेश प्रसाद सिंह र छिरिङ डन्डुुल लामा(कार्चेन), नेकपा एकीकृत समाजबादी पार्टीबाट पदमबहादुर रोकाय छन् ।
कांग्रेसबाट मन्त्री बनेका सुर्खेतका बुढालाई सामाजिक विकास मन्त्रालय र दैलेखका शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादी केन्द्रबाट मन्त्री भएका सिंहलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय र छिरिङ डन्डुुल लामालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । एकीकृत समाजबादीबाट मन्त्री भएका रोकायलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त पाँचै जना मन्त्रीहरुलाई आइतबार साँझ ७ बजे नै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सपथग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरुले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
यससँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद् आठ सदस्य हुन पुगेको छ । यस अघि माओवादीबाट प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिन्दमान बिष्ट र नेकपा एकीकृत समाजबादी पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भैसकेका थिए।


Published :२३ माघ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media