निर्वाचनमा खट्ने कर्मचारीलाइ २० लाखको बीमा

राष्ट्रपाटी न्युज

१२ फाल्गुन २०७८

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि कर्मचारी बीमा प्रक्रिया सुरु गरेको छ । आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने एक लाख १० हजार ७१३ जना कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको छ । निर्वाचन अवधिमा खटिएका कर्मचारीको २० लाख बीमा गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन १६ गतेभित्र आइपुग्ने गरी बीमा कारोबार गर्ने संस्थाबाट प्रस्ताव आह्वान गरिएको जानकारी दिएका छन् । निर्वाचनमा मतदान, मतगणना र अन्य प्राविधिक कार्यका लागि मात्रै करिब दुई लाख ५० हजार कर्मचारी नियुक्त हुनेछन् । स्वयंसेवीले भने बीमाको सुविधा नपाउने भएका छन् ।

प्रवक्ता पौडेलले प्रस्ताव आएको दुई/तीन दिनभित्रै संस्था छनोट गरी बीमा प्रक्रिया टुङ्ग्याइने बताए। आयोगको स्थायी दरबन्दीसँगै अस्थायी र निर्वाचन अवधिभर मात्रै खट्ने करारका कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको हो ।
आयोगका प्रवक्ता पौडेलका अनुसार, आयोगका पदाधिकारी तथा केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको हकमा १०४ दिनका लागि बीमा गर्नुपर्ने अवधि तय गरेको छ । तीनवटै संरचनाका करिब नौ सय कर्मचारीको बीमा गरिनेछ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा खटिने कर्मचारीको जनही २० लाख रुपियाँको बीमा हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३६ ले आयोगले निर्वाचनको काममा संलग्न पदाधिकारी, कर्मचारी वा शिक्षकको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि बीमा गरिदिनुपर्ने उल्लेख छ ।

प्रवक्ता पौडेलले ‘सरकारी बीमा संस्थानमार्फत नै कर्मचारीको बीमा गर्न कानुनी अड्चन नरहे पनि खर्चमा मितव्ययी हुन सार्वजनिक रूपमा प्रस्ताव आह्वान गरिएको’ बताए ।आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खट्ने छ हजार ७७७ जना कर्मचारीका लागि ७० दिन, मतदान केन्द्रमा खट्ने ९४ हजार कर्मचारीका लागि १५ दिन र मतगणनामा खटिने नौ हजार ३६ जना कर्मचारीका लागि १० दिनका लागि बीमा गर्नुपर्नेछ ।


Published :१२ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media