काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल सकिएको छ । बिहीबार साँझ ७ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक केहीबेर अघि सकिएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘प्रधानमन्त्रीले करिब छ महिनादेखि संसद् अवरुद्ध छ । यो संसद्लाई व्यवस्थित ढंगले सञ्चालन गर्नका निमित्त संसद् भवनमा पनि लामो छलफल गरे। र अहिले पनि लामो छलफल भयो ।’ कार्कीले भने, ‘र प्रधानमन्त्री जीले सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौ भन्ने प्रस्ताव गरे ।’
प्रधानमन्त्री देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राखेको उनको भनाइ छ । ‘अध्यक्ष ओलीले हामीले जुन कारणले संसदमा प्रवेश गर्न सकिराखेका छैनौ त्यो कारण तपाईलाई पनि थाहाँ छ । र त्यो कारणको निराकरण नभएसम्म संसदमा आएर हाम्रो बिचार राख्न हामीलाई कठिनाइ छ भनेर भने।’ सञ्चारमन्त्री कार्कीले भने ।
संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहन्छ । साथै एमसीसीबारे उनले सरकारले ल्याएको प्रस्ताव गठबन्धनले नै ल्याएको प्रस्ताव रहेको बताए ।
बैठकमा नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए ।
आज दिउँसो पनि दुई प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद् भवनमा छलफल भएको थियो । उक्त छलफलमा दुई अध्यक्षबीच साँझ पुनः बैठक बस्ने सहमति गरी सकिएको थियो ।