बालकोटमा काँग्रेस र एमाले बिचको छलफल सकियो

राष्ट्रपाटी न्युज

१४ फाल्गुन २०७८

काठमाडौं। सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल सकिएको छ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ।

‘हामीले प्रतिनिधिसभा सुचारु गरौँ। एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गरौँ भनेका छौँ’, भेटपछि कार्कीले भने, ‘तर, उनिहरुले प्रतिनिधिसभाको ढोका खुलेको छैन। हामीले प्रतिनिधिसभा खुलाउने बाटो खोल्नुहोस् भनेका छौँ। हामीले फेरि पनि संसदलाई जीवन्त बनाउने तपाईंहरुको दायित्व हो भनेर भनेका छौँ।’

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको जानकारी दिए । दुवै पक्षले आआफ्ना कुरा राखेको र छलफल निष्कर्षमा नपुगेको उनको भनाइ छ। छलफललाई भने निरन्तरता दिने उनले बताए।

राष्ट्रिय हितका विषयमा छलफल भएको छ। हामीले आफ्ना कुरा गरेका छौँ। उहाँहरुले आफ्ना कुरा गर्नुभयो’, महासचिव पोखरेलले भने , ‘निष्कर्षमा पुगेका छैनौँ। छलफल निरन्तर रहन्छ।’

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की सहभागी थिए ।

उता प्रतिपक्षी दल एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी थिए।


Published :१४ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media