अब हुने संसद् बैठक महाभियोग केन्द्रित हुने

राष्ट्रपाटी न्युज

१८ फाल्गुन २०७८

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए ।उनले हाम्रो नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए ।

त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ। यसको वस्तुगत आधारसमेत तयार गरेर पुनः संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिए।

उनले भने , ‘प्रतिनिधिसभाको आउने बैठकमा महाभियोग प्रस्ताव अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ, किनभने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिले समय लिइरहेका छौँ, अबको बैठकमा यसबारे छलफल हुन्छ।’

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गतेका लागि बोलाइएको छ। सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले महाभियोग प्रस्तावका विषयमा सुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताए। उनले आजको संसद् बैठकपछि पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।


Published :१८ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media