सङ्खुवासभा दुर्घटनामा १४ को मृत्यु : उद्धारका लागि हेलिकप्टर जाँदै

राष्ट्रपाटी न्युज

२६ फाल्गुन २०७८

संखुवासभा- संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तिमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारीका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ ।

बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो ।

उनले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् ।

“मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सड्कबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य भने जारी नै छ ।


Published :२६ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media