१० अंक बनाएको नेपाल पीएनजीलाइ हराउदै तालिकाको छैटौँ स्थानमा

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १० रन बनायो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए । आरिफ शेखले ५३ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहित र आरिफले एक सय दुई रनको कीर्तिमानी साझेदारीसमेत गरेका हुन् । करण केसीले अविजित २९, आशिफ शेखले १६, विनोद भण्डारीले १२, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान आठ-आठ रन बनाए । बलिङमा पीएनजीका अलेई नाओ, नोरमान भानु र रिले हेकुरेले दुई दुई विकेट लिए । असद भाला र चद सोपरले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रन बनाए । चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिए । लिग–२ मा नेपालले नौ खेल खेल्दै पाँच जित र चार हार खेपेको छ । १० अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा यथावत छ । नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो । पीएनजीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।

सिरिजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३६ वटा खेल खेल्नेछन् । ३६ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।


Published :२ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media