सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । वीरगञ्जबाट जनकपुरका लागि हिडेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ११ बजेतिर लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ३२ जना घाइते भएका थिए । मृतकमध्ये आइतबार अपरान्हसम्म दुई जनाको मात्रै सनाखत भएको छ । मृतक सिन्धुलीको तीनपाटन गाउँपालिका –२, का ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक सिन्धुलीका कार्की श्रेष्ठ तीन महिने सुत्केरी रहेको बुझिएको छ ।
दुर्घटनामा शर्मिलाको तीन महिने छोरी अवासी श्रेष्ठ घाइते भएकी छिन् । उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई मृतकको भने सनाखत हुन बाँकी रहेको प्रहरीको भनाई छ । थप दुईको पनि सनाखतको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए।
प्रहरी निरीक्षक थापाकाअनुसार मृतक चारै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा घाइते भएका ३२ जना यात्रुमध्ये गम्भीर अवस्थाका १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवासलगायतका स्थानमा रेफर गरिएको र सामान्य घाइते २२ जनाको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको लालबन्दी प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बस दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताए।
प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो पुलमा विपरीत दिशाबाट आइरहेको एउटा टाटासुमोलाई साइड दिन खोज्दा बस पुलबाट तल खोलामा खसेको देखिएको छ । दुर्घटनामा बसचालक बाराको कलैया उपमहानगरपालिका –१२, का ४८ वर्षीय ज्योतिप्रसाद साह घाइते भएका छन। उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
सर्लाहीका ट्राफिक प्रहरी प्रमुख केदारमान दोङकाअनुसार पुलबाट करिव १३ फिट तल बस खसेको छ । दुर्घटनालगत्तै लालबन्दी, फूलजोर, बयलवासलगायत स्थानबाट खटिएका नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेलाई घटनास्थलबाट उद्धार गरी लालबन्दीका विभिन्न अस्पताल पुर्याएका छन ।