काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । गत पाँच वर्षमा ३६ लाख ७९ हजार २४१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन तालिका बमोजिम नै सबै कार्यक्रम समयमै गरेको बताए । उनले आगामी दिनमा समेत आयोगले उक्त कार्यक्रमलाई दृढतापूर्वक लागू गरेर २०७९ वैशाख ३० गते मतदान गर्न पूर्ण रूपमा तयार छ भने । उनले समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिएको जानकारी दिए।
आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १८३ जना मतदाता छन् । आयोगले बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेको जनाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जना मतदाता छन् । बागमतीमा मतदाता पुरुष १७ लाख चार हजार ८९८ र मतदाता महिला १७ लाख सात हजार ९४२ तथा अन्य २९ जना छन् । कर्णालीमा पाँच लाख छ हजार १८० पुरुष र चार लाख ९५ हजार ९९ मतदाता महिला छन् ।
प्रदेश १ मा दोस्रो सबैभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८०० मतदाता पुरुष र १६ लाख ४७ हजार ५६१ मतदाता महिला र अन्य २३ जना छन् । मधेस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष र १५ लाख ३३ हजार १५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख एक हजार ३५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।
गण्डकी प्रदेशमा आठ लाख ४४ हजार ४५२ पुरुष, नौ लाख २४ हजार ९४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४११ जना छन् ।सुदूरपश्चिम प्रदेशमा आठ लाख ६६२ पुरुष र आठ लाख ३१ हजार ४७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन्