काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुगेका छन् । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुगेको प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेको हो । उनलाई विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवासहितको नेपाली प्रतिनिधि मण्डल चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत गएका थिए । चैत १९ गते शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले भेट गरे भने नेपालका तर्फबाट मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी भएका थिए ।
यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक भारत भ्रमणको क्रममा दुई देशबीच सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ गर्ने विषयमा विचार आदानप्रदान भएको बताएका छन् ।
आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री देउवा र भारतका समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्रीमण्डल स्तरमा भेटवार्ता भएको जानकारी दिए ।
स्वास्थ तथा शिक्षा क्षेत्रमा सहयोग, ऊर्जा एवम् ट्रान्स्मिसन लाइनका विषयमा छलफल भएको उनको भनाइ छ । यश लगायत पुल निर्माण तथा एकीकृत चेकजाँच चौकी, सीमापार ट्रान्समिसन लाइन, रेल सवा, पूर्वाधार निर्माण, द्विपक्षीय व्यापार विस्तार, रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल भयो, परराष्ट्रमन्त्री खड्काले बताए ।
भारतका प्रधानमन्त्री मोदीले नेपालीको प्रस्तावमा सधैं सकारात्मकरुपमा अगाडि बढ्ने बताएको पनि उनले भने ।