इतिहाँसले सुम्पेको जिम्मेवारी पुरा गर्न तयार छु – उद्दव खरेल

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अत्याधिक मत सहित विजय हासिल गर्‍यो। नेकपा एमालेको तर्फबाट प्रमुख पदका उमेद्वार उद्दव प्रसाद खरेलले ४३१९ मतले नेपाली काङ्ग्रेसका राजु श्रेष्ठ माथी बिजय हासिल गरे। खरेलले १३२४६ मत ल्याउदा श्रेष्ठले जम्मा ८९२७ मत मात्र ल्याउन सके । तत्कालीन अबस्थामा चर्चित मानिने नेकपा माओवादीका उमेद्वार रविन अधिकारिले ३७९० मत ल्याएका थिए । नगरपालिकाका १३ वटा वडा मध्य ११ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजय भए।

समयको गति संगै करिव पांच बर्ष पूरा हुनै लागेको छ। स्थानीय तहको अर्को निर्बाचन यही बैसाख ३० गते हुँदैछ। बैसाख १२ गते सम्ममा सबै दलहरुले मनोनयन दर्ता गर्नु पर्ने नै छ। अबको निर्वाचनमा पनि यस नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको बिचमा प्रतिष्पर्धा हुने निश्चित नै छ। नेपाली कांग्रेसले अन्य दल संग गठबन्धन गरेपनि नगर प्रमुख भने नेपाली कांग्रेसकै हुने करिव निश्चित नै छ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिक कारण , गठबन्धनको दवाव तथा गगन थापा र एकीकृत समाजबादीका नेता कुसुम कुमार कार्कीको निकट सम्बन्धका कारण कुसुम कुमार कार्की पनि गठबन्धनका साझा प्रमुख उम्मेदवार बन्ने सम्भावना तेतिकै छ। तर यो कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन भने स्वयम् कार्की पनि पार्टीको निर्णय बिना आफूले केहि भन्न नसक्ने र बाँकी सबै अनुमानहरु मात्र भएको बताउंछन्।

गत स्थानीय तहको निर्वाचनमा ४३१९ मतले नेपाली काङ्ग्रेसका उम्मेदवार माथी बिजय हासिल गरेको नेकपा एमालेको अबको उम्मेदवार को होला भन्ने चासो र चर्चाले अहिले नगरपालिका एबम सिङ्गै काठमाडौंको ध्यानाकर्षण गरेको छ। नेकपा एमालेको आन्तरिक प्रक्रिया अगाडी बढ्दै गर्दा फेरी एकपटक नगर प्रमुख उद्दव खरेल नै दोहोरिने प्रवल सम्भावना छदैछ। तथापी झन्डै आधा दर्जन नयाँ आकांक्षी थपिए पछि यो बिषय पनि थप पेचिलो बन्न पुगेको छ।

एमाले भित्र प्रमुखको दावी गर्नेमा वर्तमान नगरप्रमुख उद्दवप्रसाद खरेल र उपप्रमुख रमादेवी राई, मिठाराम अधिकारी, संगम गहतराज , जयराम थापा, विदुरविक्रम खड्का, मधु अधिकारी, लक्ष्मी संग्रौला, प्रदीप डंगोल, श्रीकृष्ण श्रेष्ठ र जगतप्रसाद निरौला समेत रहेका छन्। तर अहिले केहिले दावी छोडिसकेको भएपनि केहि दावेदारहरुले कुनै हालतमा नछोड्ने बताउंदै आएका छन्।

यसै सन्दर्भमा राष्ट्रपाटिसंग बिशेष कुराकानी गर्दै नगर प्रमुख खरेलले आफू कुनै पदको लागि मरिहत्ते गर्ने व्याक्ति नभएको बताउंदै पार्टीको एउटा सिपाहीको नाताले सहि उम्मेदवार छान्नुपर्ने कुरामा आफू सतर्क रहेको बताएका छन्। अहिले केहि व्याक्ति र प्रवृत्तिले आफू बिरुद्द गलत प्रचार प्रसार समेत गरिरहेको बताएका छन्। तर आफू इतिहाँसले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको भन्दै जनताको पक्षमा सतिशाल झैँ खडा रहेर निरन्तर कर्म गर्न पछि नपर्ने दावी समेत गरेका छन्।

कतिपय आफनै पार्टीका स्थानीय नेताहरुले स्थानीय चुनावको महत्व , पार्टी संगठनका समस्या , तिनका समाधान र गतिविधिहरु बारेमा राम्रो जानकारी नै नलिई आफ्नो उम्मेद्वारी प्रस्तुत गरिरहेको समेत उनले बताएका छन्। नेकपा एमालेले पांच बर्षमा घोषणा पत्रमा उल्लेख गरेका झन्डै ७०% भन्दा बढी बिकास निर्माण सम्बन्धि काम आफूले नेतृत्व लिएपछि पूरा गरेको भन्दै त्यसको अपनत्व लिन सक्ने नेतृत्व अहिले नगरपालिकालाई चाहिएको उनको धारणा छ। यो चुनाबलाइ सामान्य रुपमा नलिन आग्रह गर्दै उनले पार्टी बिभाजन, बिपक्षी गठबन्धन , बूढानिलकण्ठ नगर विकासको आगामी योजना तथा बिपक्षी संग सबाल जवाफ लगायत हरेक क्षेत्रमा उठ्न सक्ने प्रश्नको जवाफ खरो रुपमा दिन सक्ने तथा तर्क र योजना जनता माझ राख्न सक्ने उचित पात्र नगर प्रमुखको उम्मेदवार बन्नुपर्ने उनको धारणा छ।

महामारी र चुनौती बीच बिगत पाँच बर्षमा नगरले सम्पन्न गरेका कामको आलोचना गर्दै हिड्ने मान्छेले निर्वाचनमा गएर कुनै तर्क गर्न नसक्ने उनको भनाइ छ। सतही कुरा गरेर आफ्नो टोल र वडाको मात्र चासो लिएर समग्र बूढानिलकण्ठ नगरको नेतृत्व लिन नसकिने भन्दै उनले अहिले नगर प्रमुखको नेतृत्व लिन इच्छुकहरुले यी र यस्तै कुरालाई ध्यान दिन आग्रह समेत गरेका छन्।

यसैबीच नगर प्रमुखहरुको चयन प्रक्रिया चल्दै गर्दा बूढानिलकण्ठ नगरपालिकामा उद्दव खरेल नै दोहोरिने करिव निश्चित जस्तै रहेको एकजना प्रदेश स्तरीय नेताले बताएका छन्। बिगत निर्बाचनमा अत्याधिक मतले विजय हासिल गरेको , आफ्नो कुरा स्पस्ट राख्न सक्ने , धेरै बिषयमा जानकारी भएको , नगर प्रमुखको रुपमा झन्डै ७०% घोषणापत्रमा उल्लेख गरिएका काम सम्पन्न गरेको , बजेट बाडफाड र जनताको काममा कहिले पनि यो या त्यो पार्टी नहेरी काम गर्ने , बिपक्षी पार्टीहरुले समेत माया र सम्मान गर्ने व्याक्तित्वको रुपमा खरेल नै रहेको भन्दै उनलाई चुनौती दिन सक्ने नेतृत्व हाललाई नभएकाले उनि नै दोहोरिने सम्भावना रहेको उनको भनाइ छ।

“खरेल नेताको घर घरमा मलाई टिकट दिनुस भन्दै जादैनन् , बूढानिलकण्ठको भूगोलको बारेमा सबैभन्दा धेरै उनैलाई थाहा छ , त्यसैले पनि माथिको नेताहरुले उनलाई माया गर्छन ” उनि थप्छन्। फेरी बिपक्षीहरुको गठबन्धन बन्यो भने खरेल बाहेक अरुले चुनाब जित्न कठिन हुने भन्दै अरु दाबेदारहरुलाइ प्रदेश माननीय लगायत अन्य पदमा व्यबस्थापन गरेर भएपनि उनलाई टिकट दिनै पर्ने उनको तर्क छ। अन्यथा यो पटक चुनाब हारेमा आगामी १५/२० बर्ष सम्मको लागि एमालेले फेरी बूढानिलकण्ठ नगरपालिकामा चुनाब जित्न कठिन हुने भन्दै सबै एमालेहरुलाई सचेत हुन् उनले आग्रह समेत गरेका छन्।


Published :२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media