म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाँणले निर्देशन दिएका हुन् ।

‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने ।

निर्वाचन सुरक्षाका क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामना गर्न पनि मन्त्री खाँणको निर्देशन छ ।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए ।

उनले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिमा रहेका पदाधिकारीहरूलाई निर्वाचन सुरक्षा र निष्पक्षता कायम गराउने गरी सुरक्षा प्रत्याभूति दिलाउन निर्देशन पनि दिए ।

सुरक्षा गोष्ठीमा प्रत्येक प्रदेशबाट एक-एकजना प्रमुख जिल्ला अधिकारीले सुरक्षा स्थितिबारे प्रस्तुतीकरण दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media