मधेसमा ओली ‘मिसन’ सफलः पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’

मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो ।

ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए ।

ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएको छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्‍ने छनक देखाएको छ ।

यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्‍याएको छ । नौं वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ ।

जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ ।

सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्‍मा एमाले फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीभन्दा सानो छ ।

तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ ।  नेकपा ९माओवादी केन्द्र०ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यस पटक १० स्थानीय तह जितेको छ ।

माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ ।  अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टी) पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।

यद्यपि, एमाले भने निर्वाचनबाट मधेसमा शक्तिशाली दलको रूपमा उदय भएको छ । कांग्रेसको प्रतिस्पर्धी दल बन्‍ने देखिएको छ ।

मधेसमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेसी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताए ।

‘मधेसमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन । जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो’, उनले न्युज कारखानासँग भने, ‘मधेसी नागरिकको विश्‍वास एमालेमाथि छ । किनभने एमाले मधेसहित सिङ्‍गो देशको विकास गर्ने पार्टी हो ।’

उनले मधेसलाई एमालेमय बनाउन चाहेको बताएका छन् ।


Published :७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media