एमाले बन्यो बारामा सबैभन्दा ठूलो दल

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो ।

नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ ।

अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउँन सफल भएको छ ।

एमालेसँग अहिले ११ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले पाँच स्थान जित्दा यसअघि जित हात पारेको उपमहानगरपालिका भने कांग्रेसले गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ । कांग्रेसले कोल्हवी, महागढीमाई, आदर्श कोत्वाल र सुवर्णमा भने जित हात पार्न सफल भएको छ । अघिल्लो पटक पहिले पार्टी रहेको कांग्रस यो पटक भने दोस्रोमा चित्त बुझाएको छ ।

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको रेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले तीन पालिका सहित तेश्रो भएको छ । जिल्लाको सिम्रौनगढ, बारागढी र विश्रामपुरमा जित हात पार्न सफल भएको छ । यस अघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

जिल्लाको दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पार्न सफल भएको छ । जसपाले देवताल र करैयामाईमा जित हासिल गरेको छ । यस अघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।

जिल्लामा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले पहिले पटक खाता खोल्न सफल भएका छन् ।

माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका जित हात पार्न सफल भएको छ भने विवेकशील साझा पार्टीले फेटा गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि २०७४ को निर्वाचनमा जीतपुरसिमरामा एमालेले र फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको थियो ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media