बाह्य सम्बन्धमा देखापरेको अयोग्यतालाई सरकारले लुकायोः ईश्वर पोखरेल

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०७९

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखापरेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गरे ।

उनले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताए । त्यसैगरी उनले सरकार एक चिन नीतिको विपरित अगाडि बढेको हो ? भन्ने प्रश्न समेत गरे । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बति शरणार्थीलाई भेट्न दिएकोप्रति उनले आपत्ति जनाए ।

उनले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताए ।


Published :१३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media