काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीको बाँकी कैद सजाय मिनाहा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा ८ सय ३४ जना कैदीको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो ।
राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसहितका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीहरूको बाँकी कैद सजाय जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकारको सिफारिसमा विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।