नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभारः राष्ट्रपति भण्डारी

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।

१५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनले गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media