काठमाडौँका मेयर, उपमेयरलगायत १६० जनप्रतिनिधिले लिए शपथ (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरलगायत १६० जना जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले काठमाडौँको  प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए । त्यसलगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका थिए । सो अवसरमा उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ गरेकी थिइन् । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा वाचन गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोमा सहभागी भएकी थिइन् । सो समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई कदर गरेर जनताको सेवा गर्न आग्रह गरेका थिए ।

वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले) की सुनिता डङ्गोल निर्वाचित भएकी थिइन् ।

महानगरको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।


Published :१६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media