अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न: कमिशन नआउने भएर हो शिक्षा र स्वास्थ्यको बजेट कटौती गरेको ?

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो ? भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशंका व्यक्त गरेका छन‍्  ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै त्यसै गरेको हुनुपर्ने जिकिर गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गरे । उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासोसमेत नदिएको टिप्पणी गरे ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media