अझै सार्वजनिक गरेनन् प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण

राष्ट्रपाटी न्युज

२० जेष्ठ २०७९

काठमाडौं । देउवा सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा तथा सरकारमा रहेका मन्त्रीहरूले  सम्पत्ति विवरण अझै सार्वजनिक गरेका छैनन् ।

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण एक वर्ष हुन लाग्दा समेत गोप्य नै राखिएको छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर सार्वजनिक गरिएको छैन ।


Published :२० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media