केपी ओलीको टिप्पणी- पैसामा मरिहत्ते गर्नेहरु सरकारमा भएपछि कसरी वातावरण संरक्षण हुन्छ ?

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पैसामा मरिहत्तेहरु गर्नेहरु सरकारमा भएपछि कसरी वातावरण संरक्षण हुन्छ भन्दै सरकारले वातावरण विनास रोक्न ठोस कदम अगाडि नबढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारी वेवास्ताकै कारण वातावरण विनासको डिलमा पुगेको टिप्पणी गरे ।

उनले ‘वातावरण विनासको डिलमा पुग्न लागेको छ, यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्नसमेत गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन अहिलेको सरकार सक्षम नभएको बताए ।

उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।

वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरुको ओलीले ध्यानाकर्षण गराएका थिए । उनल वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरेका थिए ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media