अनिवार्य भएन इम्बोस्ड नम्बर प्लेट (विज्ञप्तिसहित)

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ ।

जेठ २४ गते विभागले ५ पाना लामो विज्ञप्ति निकाल्दै आफूहरुको आशय साउन १ गतेबाट सबैलाई अनिवार्य गर्ने भनेको नभई पहिले नै शर्त तोकिएका निकायहरुले इम्बोस्ड जडान गरे कि गरेनन्, त्यस सम्बन्धमा मात्रै अनुगमन गर्ने भनेको बताउँदै आफ्नै पहिलेको सूचनाको खण्डनसहित बचाउ गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा स्पष्टीकरणसमेत दिएको छ ।

विभागले आफ्नो विज्ञप्तिको सुरुवातमै माफी माग्दै तत्कालका लागि सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकाय लगायतलाई मात्रै अनुगमन गर्न खोजिएको बताएको छ ।

२२ कात्तिकमा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो । विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ ।

विभागले यसअघि साउन १ गतेबाट अनिवार्य गर्ने भन्दै सूचना निकालेको थियो । उक्त सूचनाको चौतर्फी बिरोध भएपछि विभागले विज्ञप्ति निकाल्दै आफ्नो बचाउ गरेको हो ।

विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ । विभागमा परीक्षणका रुपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको जानकारी दिएको छ ।

हेर्नुहोस् विभागद्वारा जारी विज्ञप्तिः

 

 


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media