बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्षको जेलसजाय

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

लापाज । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।

उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्षकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो ।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाइ छ ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरे पनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाजस्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।

उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ ।

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेलादेखिकै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् ।

त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराएकी थिइन् । मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरि चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन् । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । (रासस/एएफपी)


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media