विगत २४ घण्टामा भारतमा १२ हजार बढी थपिए कोरोना संक्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।

यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । यसअघिको २४ घण्टाको समयावधिमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ ।

यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलब १३ प्रतिशत हो ।

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिइएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८ दशमलब ६५ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट भारतमा थप ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । (रासस)


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media