वर्षमान पुनको टिप्पणीः एसपीपी सेनामार्फत् अघि बढाउन खोज्नु गम्भीर

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन ‘अनन्त’ ले अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्नेमा सेनामार्फत आउनु गम्भीर हो वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरु शीर्षकमा मदन भण्डारी फाउण्डेसनले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा पुनले भने, अब यस्तो नदोहोरियोस्, यो नै अन्तिम पटक होस् ।

परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर भएको उनले बताए ।

असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न हुन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्ने उल्लेख गरे ।

तर, तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेकामा भने उनले प्रश्न गरे । ‘नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका छैन’, पुनले भने, ‘राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटक पटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन ।

पुनले आफ्नो दल छिमेकी मुलुक वा कुनै पनि अन्तर्राष्ट्रिय शक्ति विरुद्ध कुनै प्रकारको सैनिक गठबन्धनमा संलग्न हुने कुराको सदैव विपक्षमा रहेको भन्दै उनले एसपीपीबाट सरकार पछि हट्नुपर्ने बताए । एसपीपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबी बीच सत्यता जाँच्नुपर्ने उनले औंल्याए ।

पुनले एसपीपीलाई एमसीसीकै अंगका रुपमा व्याख्या गरिएकामा आपत्ति समेत जनाए । प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्दा आर्थिक साझेदारीका रुपमा मात्र स्वीकार गर्ने गरी १२ बुँदे व्याख्यात्मक घोषणा जारी गरिएको चर्चा गर्दै पुनले अन्यथा व्याख्या गरिए आफ्नो दल एमसीसीबाट पनि पछि हट्न सक्ने चेतावनी दिए ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media