विप्लव नेकपाका चार नेताद्वारा पार्टी परित्याग गरेको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चारजना नेताले पार्टी परित्याग गरेको जनाइएको छ ।  अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धार र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको बताएका छन् ।

टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले अपिल गरेका छन् । यसरी पार्टी परित्याग गर्नेमा पुनसहित सेती ब्युरो इन्चार्ज शंकरबहादुर खडका, दलबहादुर धामी र नरेश परियार छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान् जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयास स्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरुलाई हार्दिक धन्यवादसहित भविस्यमा फेरि पनि राजनीतिका कुनैमा भेट हुने अपेक्षा गर्दै आजदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौं ।’


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media