काठमाडौँ । मदन भण्डारी बौद्धिक मञ्च केन्द्रीय कार्यसमितिले काठमाडौंमा आज संकटोन्मुख अर्थतन्त्र र आव २०७९/८० को राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ओली सरकारका पालामा भएका विकासका राम्रा पक्षहरुको उल्लेख गर्दै अर्थतन्त्रलाई संकटबाट जोगाउनका लागि गर्न सकिने कामहरुका बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा अर्थशास्त्री डा. दिलनाथ दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रमा वित्तीय क्षेत्र, मौद्रिक क्षेत्र,बाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरे तापनि अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यसपटक आर्थिक संकट देखापरेको बताए । उनले अर्थतन्त्र सुधान हुनुको सट्टा झन संकटोन्मुख हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गर्दै संकटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु प्रस्तुत गरे ।
आगामी बजेटले परिकल्पना गरेका सबै विकासका कामहरु यसै वर्षमा सम्पन्न गर्ने हो भने २० खर्बले पनि नपुग्ने हुनाले विकास गर्न भन्दा पनि चुनावमा जनता झुक्याउन ल्याएको जस्तो देखिएको बताए ।
सो कार्यक्रममा योजना आयोगका पूर्व सदस्य प्रा.डा.गोविन्द नेपाल र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा बौद्धिक वर्गहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष केबी आचार्यले गरेका थिए भने सञ्चालन सचिव पुन्य ढकालले गरेका थिए । सो कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई उपाध्यक्ष डा. बाबुराम अधिकारीले स्वागत गरेका थिए ।