एमाले सचिवालय बैठकको निष्कर्षः सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम हुँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम नहुने बताएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी मतभेद तथा अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास गर्न नसकिने बताए ।

उपमहासचिव गुरुङले भने- ‘गठबन्धनमा रहेका दलहरुमा एकअर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग-यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ ।’ जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

उनले अगाडि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जेहोस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

एक अर्को प्रसंगमा उपमहासचिव गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष आजको बैठकबाट  निकालिएको बताए । आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा नआएको बताउदै उनले अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भएको बताए ।

त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने, असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ । निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

यसैबीच एमालेले १३ विभागीय सचिव मनोनयन गरेको छ ।

वित्त तथा आर्थिक विभाग : डा भीष्म अधिकारी

संगठन विभाग: सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल

श्रम तथा रोजगार विभाग ; जनक चौधरी

संसदीय विभाग : डा: सुर्य पाठक

सामाजिक सेवा विभाग:  नेत्र तिम्सिना

संस्कृति विभाग: राजेश थापा

स्थानीय तह विभाग: हर्क राई

प्रचार तथा प्रकाश विभाग: गगन विष्ट

परराष्ट्र विभाग:  डा. अन्जान शाक्य

संघीय मामिला विभाग:  शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग: पुष्प ज्योति ढुंगाना

कानून विभाग: डिल्लीराम मैनाली

यसैगरी एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । उसले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।


Published :१९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media