बाबुराम पक्षका दुईजना मन्त्रीमा सिफारिस भएसँगै जसपामा उपेन्द्र पुनः बलियो

काठमाडौं । पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलियो भएका छन् ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव पार्टीको आन्तरिक राजनीतिमा दर्बिलो हुन पुगेका छन् ।

‘इस्तियाक राई, प्रदीप यादव मन्त्रीमण्डलमा पर्नुभयो, महेन्द्र (महेन्द्रराय यादव) जी पनि उपेन्द्रतिर नै आउनुभएको छ, अब बाबुरामजीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले भने, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो बन्नुभएको छ ।’ उनका अनुसार मन्त्रीमण्डलमा सिफारिस भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।

पछिल्लो केन्द्रिय कार्यकारिणी समिति बैठकको निर्णयअनुसार ‘तीन सदस्सीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रुपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रुपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरीत मन्त्रीमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक द्वन्द्व चल्दै आएको थियो ।

आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरु राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम पक्षलाई कमजोर बनाएका छन् ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media