सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री शर्माले अक्षम्य अपराध गरेः उपमहासचिव ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बजेट निर्माणको बेलाको सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको पुष्टि भएको आरोप लगाएका छन् ।

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको दाबी गरे । सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिर गरे । उनले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको स्पष्ट गरे ।

उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदै थियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चै नै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो । र, यो ढंगको अपराधमा संलग्नहरुमाथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

उनले भने, ‘यो फुटेज डिलिट भएको भन्ने तथ्यहरु बाहिर ल्याएर वास्तवमा यसमा गम्भीर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य चाँही स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ । यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भिर विषयहरु उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धि उठेका अन्यौलहरुलाई क्लियर गर्नेतिर लाग्दथ्यो । त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।’


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media