सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्ने कोइराला पक्षको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने गरी एजेन्डा तयार पारेको छ ।

काठमाडौंको विशालनगरमा आइतबार बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको कामकारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको कामकारबाहीबारे गम्भीर ढंगले समीक्षा गर्नुपर्ने भएको नेता चन्द्र भण्डारीले बताए ।

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवतरुपमा अघि बढाउन नसकेकोप्रति कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले जानकारी दिए ।

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media