कमिसनकै लागि प्रहरीलाई ८४ करोडको हतियार खरिद गरिँदै छः नवराज सिलवाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागि नेपाल प्रहरीलाई आवश्यक नभए पनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए । नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन ।

प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको सिलवालको भनाइ छ । उनले ११५० थान सटगन, एक हजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने खबर बाहिर आइरहेको भन्दै यदि ती हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए ।

उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ती हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने जिकिर गरे ।


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media