संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छः शेखर कोइराला

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक यथाशीघ्र लिनुपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेका बेला कोइरालाको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

कोइरालले भने, ‘यसअघिको एमाले नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने कांग्रेस अहिले विगतको भन्दा बढी निरंकुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ।’ उनले अगाडि भने- ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रह्यो, यो विधेयक फिर्ता लिनुपर्छ ।’

तत्कालीन एमाले नेतृत्वको सरकारले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए । तर, अहिले उनले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाइसकेका छन् ।


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media