उपसभामुखको मनोनयन दर्ता आज, गठबन्धनतर्फबाट उम्मेद्वार पुष्पा भुसाल

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

१:३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने भएको छ ।

उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ३ बजे हुनेछ । शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची छ ।

डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजीनामा दिएसँगै प्रतिनिधिसभा उपसभामुख रिक्त रहेको थियो ।

संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ ।

संसदमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत रहेका कारण गठबन्धनका उम्मेदवारले सभामुखको निर्वाचन जित्ने अवस्था छ । गठबन्धनले नेपाली कांग्रेसकी सांसद एवं सचेतक पुष्पा भुसाललाई उपसभामुखमा उठाउने भएको छ । अर्घाखाँचीकी भुसाल कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी छिन् भने उनी पहिलो संविधानसभाको अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन् ।

प्रतिनिधिसभामा अहिले एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी चार जना सांसद छन् । उपसभामुखको उम्मेदवार छनोटबारे सत्तारूढ दलहरूले छलफल गरेर उपसभामुख कांग्रेसलाई दिने सहमति गरेका थिए ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media