आइजीपी नियुक्ति मुद्दाको जवाफी बहस आज

काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुने भएको छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।

जवाफी बहस सकिएपछि सर्वोच्चले आजै फैसला सुनाउन सक्नेछ । प्रतिवादीका वकिल पक्ष गत सोमबार बहसका लागि तयार नभएपछि आइजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथिको बहस आजका लागि सारिएको हो । यसअघि आइतबारका लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण सोमबारका लागि सरेको थियो । आजको इजलासमा सरकारका तर्फबाट जवाफी बहसले निरन्तरता पाउनेछ।

मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ । केही हप्तादेखि आइजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ ।

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनलाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media