बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिकको परिवर्तित जीवनशैली

राष्ट्रपाटी न्युज

१ श्रावण २०७९

काठमाडौँ । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिकको जीवनशैली  हिजोआज परिवर्तन भएको छ । उनीहरु आजकाल घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् ।

घरमै पर्याप्त मात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेष्टुराँ नगयो, घरै बस्यो। छोटो दुरीमा मात्र यात्रा गर्‍यो । खर्च जोगाउन आजभोलि अमेरिकीको यस्तै दैनिकी बनेको छ।

उत्तरी भर्जिनियास्थित एउटा सुपथ मूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन् । आफ्नो पहिलो नाममात्र उल्लेख गर्न चाहने उनी विरलै रेष्टुराँतिर जान्छन् । सरकारी कर्मचारीसमेत रहेका उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पखेटाको मूल्य उस्तै भएको बताउँछन् ।

दशकौं पछि अमेरिकामा महँगी अचाक्ली बढेको छ। खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन्। अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चार दशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशत बढेको थियो। त्यसयता खाद्य सूचकाङ्क १०.४ प्रतिशत बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुख जोर्न धौधौ भएको छ। मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन्। दशौँ लाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन्।

चर्को मूल्य चुकाएर हवाइजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन। न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाइजहाज नचढेको धेरै भयो।

भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन्। पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन्। उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ।

उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन्। हरेकपटक कारको इन्धनट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ। पाएसम्म र भ्याएसम्म सार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए।

घरभाडा पनि अनपेक्षितरूपमा बढेको छ। त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ। केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन्।

बढ्दो आवास भाडाले घरबारविहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ। देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुशी नभएका अन्तर्राष्ट्रिय मुद्रा कोषका एकजना पूर्व अधिकारीले बताएका छन् । (रासस/सिन्ह्वा)


Published :१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media